April 7, 2024
अन्टारियो क्यानाडामा रहेको नेपाली समुदायको संस्था सिर्जनशील नेपाली समाजले नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्न कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सांसदहरु, नेपाली संस्थाका प्रतिनिधिहरु एवं नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो।
त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमका सहभागी अतिथिहरुलाई खादा र नेपाली टोपी लगाएर स्वागत गरिएको थियो। त्यस अवसरमा नेपाली र क्यानेडियन राष्ट्रगान बजाइएको थियो।
कार्यक्रममा ६ देखि १३ वर्ष उमेरका बालबालिकाले ‘आँखामा राख्छु मेरो देश’ गीतमा नृत्य प्रस्तुत गरेका थिए। उक्त नृत्यको संयोजन अपेक्षा पाण्डेले गरेकी थिइन्। यसैगरी ४ देखि ७ वर्षका बालबालिकाले ‘नेपालकी छोरी हुँ म’ नृत्य प्रस्तुत गरेका थिए। उक्त नृत्यको संयोजन सौरभी पौड्यालले गरेकी थिइन्। बालबालिकाहरुले ‘उता परेली झिमझिम भो’, ‘मै ठूली भइछु रे’ गीतमा नृत्य प्रस्तुत गरेका थिए भने बिशेष केसीले गीत प्रस्तुत गरेका थिए।
कार्यक्रम सफलताका लागि क्यानाडाका नेताहरुले शुभकामना सन्देश दिएका थिए। उनीहरुले पठाएका शुभकामना सन्देशहरु कार्यक्रममा वाचन गरेर सुनाइएको थियो। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, रक्षामन्त्री बिल ब्लेयरलगायतले शुभकामना सन्देश दिएका थिए। सांसदहरु एन्ड्रिया हजेल, मेरी मार्गरेट, काउन्सिलरहरु ब्राड ब्राडफोर्ड, पार्थी कँडवेल, डेभिड स्मिथ (प्रान्तीय सांसद), जोन म्याक, नथानियल इर्कस्किन (संघीय सांसद) लगायतले नेपाली नयाँ वर्षका अवसरमा शुभकामना मन्तव्य दिएका थिए।
त्यस अवसरमा संस्थापक अध्यक्ष तथा संरक्षक शिशिर पाण्डेलगायत विभिन्न प्रतिनिधिका साथै नेपाली समुदायको उल्लेख्य सहभागिता थियो। कार्यक्रम समापनका अवसरमा संस्थाका अध्यक्ष देवेन्द्र कार्कीले मन्तव्य व्यक्त गर्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए।
Recent Events
June 20, 2026
April 18, 2026
Oct. 21, 2025
Aug. 24, 2025
April 12, 2025
June 21, 2025
Aug. 31, 2024
June 16, 2024
April 7, 2024